काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले निर्वाचन क्षेत्रअनुसार खर्च गर्न पाउने सीमा तोकेको छ।
आयोगले देशभरका सबै निर्वाचन क्षेत्रलाई पाँच समूहमा बाँडेर २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो ।
आयोगले समूह ‘क’मा रहेका पाँच क्षेत्रमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउनेछन्। यसमा काठमाडौँ१, काठमाडौँ३, काठमाडौँ६, काठमाडौँ७ र काठमाडौँ८ रहेका छन्।
त्यस्तै, समूह ‘ख’मा रहेका १७ निर्वाचन क्षेत्रमा बढीमा २७ लाख रुपैयाँ खर्च गर्न सकिनेछ। समूह ‘ग’मा राखिएका ५४ निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ खर्चको सीमा तोकेको छ। यसैगरी, समूह ‘घ’मा ४८ निर्वाचन क्षेत्रलाई राखेको छ। यो समूहमा रहेका निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।
आयोगले दुर्गमका २६ निर्वाचन क्षेत्रलाई समूह ‘ङ’मा राखेको छ। यी क्षेत्रमा उम्मेदवारले बढीमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।
प्रतिक्रिया