काठमाडौँ । कथाकार हरि थापाको नवीनतम कथा–कृति ‘मभित्रको ऊ’ सार्वजनिक गरिएको छ।
नेपाल स्रष्टा समाजले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अग्रज कथाकार मञ्जु काँचुली, श्रीओम श्रेष्ठ, डा. दीनबन्धु शर्मा, पवन आलोक तथा कथाकार थापाले संयुक्त रूपमा कृतिको लोकार्पण गरे।
कार्यक्रमकी प्रमुख अतिथि काँचुलीले कथा समाजलाई जोड्ने माध्यम भएकाले विभाजन र विखण्डन निम्त्याउने खालका रचना लेख्न नहुने बताइन्। उनले सबैलाई समन्वय र एकतामा बाँध्न सक्ने कथा सिर्जनामा जोड दिँदै कथा समाजको सकारात्मक रूपान्तरणका लागि लेखिनुपर्ने धारणा राखिन्। विचार, सोच र चेतनाले नै कथालाई उत्कृष्ट बनाउने उनको भनाइ थियो।
कृतिमाथि टिप्पणी गर्दै डा. दीनबन्धु शर्माले पुस्तकले पाठकलाई आफ्नै दृष्टिकोणबाट अर्थ लगाउने अवसर प्रदान गर्ने बताए। पाठकको सामाजिक तथा वैचारिक पृष्ठभूमिअनुसार कृतिप्रतिको बुझाइ फरक–फरक हुन सक्ने उनको भनाइ थियो।
उनका अनुसार ‘मभित्रको ऊ’ कथासङ्ग्रहमा मुख्यतः सामाजिक यथार्थवादी कथाहरू समेटिएका छन्। यसमा आदर्शवादी चेत तथा केही प्रयोगवादी कथासमेत समावेश छन्। नेपाली समाजका घरपरिवारका सुख–दुःख र जीवनका विविध पक्ष कथाहरूमा अभिव्यक्त भएका छन्। उनले कथा चोटिला र प्रभावकारी हुनुपर्नेमा पनि जोड दिए।
नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष रोदनले हरि थापालाई केवल सर्जकका रूपमा मात्र नभई कथा तथा लघुकथा प्रवर्द्धन र संवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्वका रूपमा मूल्याङ्कन गरे। उनले थापा सहयात्रा विधाका कल्पनाकारसमेत रहेको उल्लेख गर्दै उनको सरल, हार्दिक र सहयोगी स्वभावको प्रशंसा गरे।
समाजका संरक्षक पवन आलोकले कथाकार थापासँगको आफ्नो सम्बन्धबारे चर्चा गर्दै कृतिको सफलताका लागि शुभकामना व्यक्त गरे।
कथाकार थापाले कथा लेखनका प्रारम्भिक अनुभव र सिर्जनायात्राका अनुभूति सहभागीहरूसँग साझा गरे।
समाजका बागमती प्रदेश संयोजक शंकर भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य एलिशा ढुङ्गानाले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन उद्धव सापकोटाले गरेका थिए।
कृतिलाई सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशनमा ल्याएको हो।
प्रतिक्रिया