काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा दिएको अभिव्यक्तिबारे राप्रपाले धारणा माग गरेको छ ।
प्रतिनिधिसभा बैठकमा उपस्थित भएर पहिलो पटक जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपाले थप धारणा माग गरेको हो ।
‘प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसद्को रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयलाई आज जसरी प्रस्तुत गर्नुभयो त्यो आपत्तिजनक छ,’ अध्यक्ष राजेन्द्र लिङदेनले भने, ‘भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ ।’
यस विषयमा यथार्थ प्रष्ट पार्न राप्रपाले प्रधानमन्त्री एवं नेपाल सरकारसँग माग गर्दै लिङदेनले भनेका छन्, ‘यस सम्बन्धमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक हुनुपर्दछ ।’
प्रतिक्रिया