अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा आज विशेष अदालतमा १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले परराष्ट्रका सहसचिव तीर्थराज अर्यालसहित बिचौलियाको भूमिकामा रहेका सिद्धार्थ थापा र राहदानी छपाइ गर्ने जर्मन कम्पनीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारको अनुसन्धानबाट राहदानी छपाइ प्रकरणमा करिब ८ अर्ब रुपैयाँ बराबरको हिनामिनाको निष्कर्ष निकालिएको बताइएको छ। राहदानी विभागले २०८१ मङ्सिरमा पाँच वर्ष अवधिका लागि ६४ लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति तथा त्यससँग सम्बन्धित प्रणाली व्यवस्थापनका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। त्यसक्रममा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले २०८१ फागुन ९ गते विभागका महानिर्देशक तीर्थराज अर्यालको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन समिति गठन गरेकी थिइन्।
आयोगले अहिले हिरासतमा रहेका परराष्ट्र मन्त्रालयका सहसचिव अर्यालसहित सुनिलकुमार केसी, तुलसीप्रसाद अचार्य, राजाराम दाहाल, भेषराज भुर्तेल, सोमेश थापा, सिद्धार्थ थापा, पुष्करराज नेपालविरुद्ध मुद्दा दर्ता गरेको हो । त्यसैगरी, जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधि मुनिन्द्रराज मल्लसहित सात जनालाई प्रतिवादी बनाएको छ ।
प्रतिक्रिया