नेपाल पर्यटन बोर्डमा खुला प्रतिस्पर्धामार्फत बोर्डको सञ्चालक समितिमा ५ जना सदस्य नियुक्त भएका छन् । बोर्डको सञ्चालक समिति सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल नियुक्त भएका हुन् ।
पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उनीहरूलाई नियुक्त गरेको हो । बोर्ड सदस्यका लागि देशभरबाट १ हजार १ सय वटा आवेदन परेको थियो ।
बाेर्डका अनुसार आवेदन परेको मध्येबाट आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवर्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो ।
नवनियुक्त सदस्यको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय प्रवर्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने बोर्डले विश्वास गरेको छ ।
प्रतिक्रिया