चितवनमा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही कीरा र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ ।
भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो ।
कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो । कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार अहिले किसानले गहुँको पात पहेँलो भएको र जरामा कीराले खाएको जस्तो समस्या लिएर आएका छन् । अहिले रोग के हो भन्ने पुष्टि हुन नसकेको उनले बताइन् । विषयगत रूपमा अध्ययनको काम नगरी यही रोग भनेर भन्न सक्ने अवस्था नरहेको उनले बताइन् । परीक्षणका लागि नमूना सङ्कलन गर्ने काम भइरहेको उनले बताइन् ।
जिल्लामा चार हजार ७११ हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । गत वर्ष सो क्षेत्रफलमा १५ हजार ५७७ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष गहुँ लगाउने ठाउँमा राज्मा खेती पनि गरिएको पाइएकाले केही क्षेत्रफल घट्ने अनुमान गरिएको पौडेलले जानकारी दिइन् ।
प्रतिक्रिया