+
Search

ताजा अपडेट +

पपुलर +

समयमा पानी पर्दा उदयपुरमा बढ्यो कोदोको उत्पादन

शब्द-यात्रा
२०८२ फागुन २६, मंगलबार

काठमाडौँ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि भएको छ ।

यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन बृद्धि भएको छ । ताप्ली, उदयपुर गढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकासहित त्रियुगा नगरपालिकाका पहाडी क्षेत्र, बेलका, चौदण्डी गढी तथा कटारी नगरपालिकाका पहाडी क्षेत्रमा कोदो खेती हुँदै आएको छ ।

त्रियुगा नगरपालिका–१६ सुकौराका डम्बरबहादुर राईका अनुसार गाउँमा धेरै जग्गा पाखोबारी रहेको र बाध्य भएर पनि कोदो खेती गर्नुपर्ने भएकाले उत्पादन राम्रो भएको हो । उनले युवा विदेश पलायन भइरहे पनि गाउँका बुढापाकले कोदो खेतीमा निरन्तरता दिइरहेको बताए ।

यस पटक पहाडी क्षेत्रमा वर्षा राम्रो भएको कारण कोदो उत्पादन बृद्धि भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए । कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरमा हाल दुई हजार ७६५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा