काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले नेपाल बार एशोसियसन काठमाडौंलाई कम्प्युटर, प्रिन्टर, स्क्यानर, फोटोकपी मेशिन तथा स्मार्ट डिसप्ले बोर्ड लगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा बारको भवन आगलागीबाट क्षति भई पूर्ण रूपमा सेवा अवरुद्ध भएपछि त्यसलाई सहज र प्रभावकारी बनाउन बैंकले सहयोग प्रदान गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुधबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले नेपाल बार एशोसियसन काठमाडौँलाई उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ । यस सहयोगबाट बार एशोसियसनको दैनिक प्रशासनिक तथा न्यायिक कार्य सम्पादन गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशिल हुमागाई, विभागीय प्रमुखद्वय निर्मलराज कोइराला र बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल तथा वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्माको उपस्थिति रहेको थियो भने नेपाल बार एशोसिएसन काठमाडौँको तर्फबाट बारका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र, उपाध्यक्षद्वय अधिवक्ता सरस्वती श्रेष्ठ र तेजबहादुर रावल, महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला लगायत बारका पूर्वअध्यक्ष हरिहर दाहाल र प्रेमबहादुर खड्का लगायत वरिष्ठ अधिवक्ता, अधिवक्ता एवं बारका विभिन्न कर्मचारीहरूको समेत उपस्थिति थियो ।
कृषि विकास बैंक लिमिटेडले यसअघि पनि भदौ २४ गते भएको आन्दोलनका घटनाबाट प्रभावित भई क्षतिग्रस्त सेवा तथा संरचना पुनः सञ्चालनमा काठमाडौँ जिल्ला अदालत, कीर्तिपुर नगरपालिका, प्रहरी बिट सातदोबाटो लगायत विभिन्न सरकारी निकायलाई यस्तै प्रकृतिका सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत प्राथमिकतामा राख्दै भविष्यमा पनि सार्वजनिक हितका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया