काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका ३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन् ।
सागरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र कृष्ण कुमारले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । उनीहरू सम्पर्कविहीन भएपछि दिइएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई टोखा नगरपालिका १ बाट र कृष्ण कुमारलाई काठमाडौं महानगरपालिका १२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया