काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ ।
शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित बिहीबार एक समारोहबीच दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
शैक्षिक जगत्लाई व्यावहारिकतासँग जोड्ने प्रयासस्वरूप सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्राडा हरिकृष्ण श्रेष्ठले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि बोल्दै सजिलो नेटका सीईओ कार्कीले इन्जिनियरिङको क्षेत्रमा सफल एभरेष्ट कलेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्कीले उक्त सहकार्य केवल कागजी औपचारिकताका लागि मात्र नभएर साझा दृष्टिकोण र प्रतिबद्धतामा आधारित हुने बताए । ‘यो सहकार्य एउटा कागजी रूपमा मात्र होइन, यसमा हाम्रो साझा दृष्टिकोण र प्रतिबद्धता छ । शैक्षिक जगत्लाई व्यावहारिकतासँग जोड्ने प्रयास हो ।’ उनले भने ।
कलेज पढिसकेपछि जागिरका लागि आउनेहरूसँग ज्ञान भए पनि सीप नहुँदा त्यसले समस्या निम्त्याइरहेको उनको भनाइ छ । ‘पढिसकेपछि साथीहरू जागिरका लागि आउनुहुन्छ, उहाँहरूसँग ज्ञान त हुन्छ तर सीप हुँदैन । त्यसलाई परिपूर्ति गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’ उनले भने ।
त्यस्तै, क्याम्पस प्रमुख प्राडा हरिकृष्ण श्रेष्ठले कलेजबाट पासआउट भएर विद्यार्थीहरू गए पनि बजारबाट व्यावहारिक ज्ञान नभएको गुनासो आउने गरेको तर अबको सहकार्यले एक हदसम्म त्यो गुनासोको सम्बोधन गर्ने विश्वास व्यक्त गरे । ‘अहिले हामीलाई आउने गुनासो भनेको विद्यार्थीहरूमा प्राक्टिकल नलेज भएन भन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामी दिनमा हामीले हाम्रा विद्यार्थीहरूलाई ज्ञान मात्र होइन, व्यावहारिक ज्ञान दिन सक्नेछौँ भन्ने विश्वास छ,’ उनले भने । सजिलो नेटसँगको सहकार्यले कम्पनीका लागि मात्र नभएर देशमा दक्ष जनशक्ति उत्पादनका लागि समेत टेवा पुग्नेमा क्याम्पस प्रमुख श्रेष्ठको विश्वास छ ।
त्यस्तै, क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार भण्डारीले हरेक क्षेत्रले एकले अर्कोलाई आलोचना गरेर भन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अहिले यसले यो गर्यो, यो गर्न सकेन भनेर अरूका आलोचना गर्ने गरिन्छ । तर हामीले सहकार्य गरेर काम गरेका छौँ त ? त्यसलाई एकपटक नियाल्नुपर्दछ । त्यसका लागि यस्ता किसिमका सहकार्यले हामीलाई देशमा दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्दछ,’ उनले भने ।
समझदारी समारोहमा सजिलो नेटका तर्फबाट सीईओ सतिश कार्की, सीओओ विकास मुडभरी र सजिलो नेटका अध्यक्ष प्रकाशमान सिंह जीसीको उपस्थिति रहेको थियो । त्यस्तै, क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्राडा श्रेष्ठ, सहायक क्याम्पस प्रमुख सहप्राध्यापक राजन लामा, कलेजका बोर्ड मेम्बर राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया