झापा । अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन् । अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन् ।
अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबिच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीनदिने रोजगार मेला आयोजना गरेको छ ।
यही असार ३ देखि ५ गतेसम्म शनिश्चरे बजारमा सञ्चालन भएको रोजगार मेला बेरोजगार युवालाई रोजगारीसँग जोड्ने महत्त्वपूर्ण माध्यम बनेको आयोजकले जनाएको छ ।
मेलामार्फत चार जना ‘वेटर’, १० जना कुक, २० जना हाउसमेन, १३ जना सेक्युरिटी गार्ड, २५ पसलका कर्मचारी, छ केयरगिभर, पाँच शिक्षक, १० लोड–अनलोड गर्ने कर्मचारी, ड्राइभिङ लाइसेन्स प्राप्त १० जना र बाँकी अन्य क्षेत्रमन व्यक्तिले रोजगारी पाएका हुन् ।
मेलामा ब्युटीसियनतर्फ २५०, इलेक्टिसियनतर्फ ३००, कम्प्युटरसम्बन्धी तालिममा १२५ र वेटर, सेल्स, शिक्षक, लेखा, हाउसकिपिङ, बारिस्ता, मन्टेश्वरी, सेक्युरिटी र सहयोगीसम्बन्धी तालिम तथा परामर्शमा १५० जना सहभागी भएका थिए । त्यसैगरी बेकरीसम्बन्धी तालिममा १५० जनाले सहभागिता जनाएका थिए ।
करिब १८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको मेलाबाट प्रारम्भिक चरणमा १२१ जनाले रोजगारी प्राप्त गरेका छन् ।
यसअघि बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने ‘बिर्तामोड रोजगार मेला’बाट १६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका थिए । मेलामा एक हजार ७६ जनाले विभिन्न रोजगारीका लागि आवेदन दिएका थिए । तीमध्ये प्रारम्भिक चरणमा १६४ जना विभिन्न रोजगारदाता संस्थामा आबद्ध भएका हुन् ।
झापाका दुई स्थानीय तहले सञ्चालन गरेका यी रोजगार मेलाबाट हालसम्म कूल २८५ जना युवाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
प्रतिक्रिया