+
Search

ताजा अपडेट +

पपुलर +

एक वर्षदेखि चिकित्सकविहीन छ बैतडीको भेटेरिनरी अस्पताल

शब्द-यात्रा
२०८२ मंसिर २७, शनिबार

बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र एक वर्षदेखि चिकित्सकविहीन बनेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको सो कार्यालयमा एक वर्षदेखि पशु चिकित्सकको पदपूर्ति हुन सकेको छैन ।

पशु चिकित्सक नहुँदा पशु स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुमा लाग्ने रोगको पहिचान तथा निदान, निरोगिता प्रमाणित, ल्याब तथा शल्यक्रिया, डाइग्नोसिस जस्ता पशु स्वास्थ्य सेवा प्रभावित बन्न पुगेको जनाएको छ ।

यसअघि करारमा कार्यरत पशु चिकित्सक विशाल पाठक गत वर्षको मङ्सिरदेखि नै कार्यालयबाट गइसकेपछि हालसम्म पदपूर्ति हुन सकेको छैन । जिल्लाबाट बाहिरिने खसी, बोका, भैँसी, राँगा निकासी पैठारीका लागि प्रमाणित गर्न सकिएको छैन, यसले चोरी निकासी गरी जिल्ला बाहिर पैठारीको जोखिम बढाएको छ ।

पशु चिकित्सकसहित सात जना प्राविधिकको दरबन्दी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा अहिले एक पशु विकास अधिकृत र एक प्राविधिक गरी दुई जना मात्रै रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा