बुटवल । साहित्यकार नारद गौतमद्वारा लिखित कविता सङ्ग्रह ‘शब्दका छर्रा’ को लोकार्पण गरिएको छ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा श्री जनजागृति माध्यमिक विद्यालय, योगीकुटीमा सम्पन्न कार्यक्रममा कृतिको औपचारिक लोकार्पण गरिएको हो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले कृतिकारलाई बधाई तथा कृतिको सफलताका लागि शुभकामना व्यक्त गरे। साथै उनले उपस्थित साहित्यकारहरूलाई स्वागत गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराए।
कृति समीक्षाका क्रममा प्रा.डा. हिरण्यलाल ज्ञवालीले ‘शब्दका छर्रा’ मा प्रयोगबाहिर पर्न लागेका नेपाली शब्दहरूको गहिरो अध्ययन र उजागर गरिएको उल्लेख गर्दै यस कृतिलाई कविता काव्य क्षेत्रमा पठनीय र महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रुद्र ज्ञवालीले गौतम संस्कृतका ज्ञाता र अप्रचलित नेपाली शब्दका अनुसन्धाता भएको उल्लेख गर्दै नेपाली भाषा तथा साहित्यको समृद्धिमा उनले पुर्याएको योगदानको प्रशंसा गरे।
कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद, साहित्यकार विजय हितान, मदनलाल पौडेल, रमेश समर्थन, लक्ष्मण ज्ञवाली, तिलक लामिछाने, दुर्गा थापा मगर, डा. लक्ष्मी पोखरेल ‘कोकिला’ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै रचना वाचन गरेका थिए। गंगा पुरीले लेखकको परिचय प्रस्तुत गरेका थिए।
जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद पौडेल, लेखककी धर्मपत्नी मधुरा गौतमलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा कृतिकार नारद गौतमले आफ्नो साहित्यिक यात्राको प्रारम्भ र रचनागर्भबारे लेखकीय मन्तव्य व्यक्त गरे।
प्रतिक्रिया