– तेजेश्वरबाबु ग्वंगः
रङ्ग यति बलवान् रहेछ थाहै थिएन । बल्ल बुझेँ चेष्टा जाग्न थालिरहेछन् यतिन्जेल । कैयन् पटक रङमङिएथेँ । कैयन पटक तिरमिराएछु । आखिर रङ्गमा ढङ्ग पुर्याउनु थियो । पुर्याउन थालिरहेछु । रङ्गानुभूति अर्थात् रङ्गको अनुभूतिले मलाई अनुभूत पारेको पा¥यै छ । जतिजति अनुभूति पाउँछु म रङ्गका उतिउति नै सलबलाउन थाल्छ मन । जतिजति मन सलबलाउँछ उतिउति नै औँलाहरू कलम समाउन उद्यत रहन थाल्छन् । शरीरका अनेक अवयव र अङ्गप्रत्यङ्गहरू एकीकृत अभियान भर्न थाल्छन् । एकीकृत अभियान भनेको के भन्नुहोला यहाँ ! म भन्छु एकीकृत अभियान तन्मयता, मन्मयता, अनि सक्रियताभन्दा अरू के ? तन्मयताले शरीरका अवयव र अङ्गहरूलाई एक साथ एकाकार पार्न सघाउँछ । अङ्गहरूलाई एक साथ एकाकार बनाउनु भन्नु कुनै निश्चित काम शुद्धमनले सकारात्मक तवरले गर्न चलाउनुपर्ने मन, हात, आँखा कान, नाक आदि सिलसिलाबद्ध ढङ्गले उपयोग गर्नु हो । प्रश्न मेरो । उत्तर तपाईंको । प्रश्न जिज्ञासा– जान्ने रहर । उत्तर समस्या समाधानका उपाय र रङ्ग रहस्यहरूको सन्दर्भ यो । रङ्गरहस्यहरू समस्या त हुँदै होइनन् । हुन् भने नि बुझाइकै हुन सक्लान् । बुझाइमै समस्या । बुझाइमै समाधान । लाग्छ रङ्ग रहस्य बुझ्न थाल्नु आनन्द लहर बन्छ । नबुझ्नु तिरमिराहट भनौँ तिरमिर्याहट ।
रङ्ग रहस्यहरू सदा एकनास रहेनन् । युगहरूले रङ्ग रहस्यहरू युगानुकूल बनाए । रङ्ग रहस्यहरू युगीन बने । युग रङ्ग रहस्य बने । युगैले रङ्ग रहस्यहरूका पाटा उघारे । रङ्गका रङ्गीन अर्थबोध युगानुकूल बने, बनाइए । रङ्ग रहस्यहरूलाई युगीन बनाउनेहरू रङ्गकर्मीहरू बाहेक अरू को नै बन्न सक्लान् ? मात्र युगमा जन्मेका युगीन रङ्गकर्मीहरू । रङ्गकर्मीहरू जो रङ्गमै रङमङिए । रङ्गकर्मीहरू रङ्गीन मानिसहरू थिए । मानिसहरू सक्षम नरनारीहरू ।
नरनारीहरू जसले संयुक्त प्रयासमा रङ्गका पौभाः अर्थात् क्यानभास तयार पारे । तिनै मानिस थिए, हुन् र रहलान् रङ्गरहस्यका चरित्र निर्माणकर्ता–सर्जक–स्रष्टा । रङ्ग रहस्यहरूका तानाबाना रङ्गकर्मीका चेतलोकका आलोक बने । रङ्ग रहस्यहरू रङ्गकर्मीकै रहस्यमय सोच, चिन्तन, अभिव्यक्ति कला, सीप र साधना अनुरूप रहे । रङ्ग रहस्यहरूका साधना रङ्ग रहस्यहरूकै मन्त्रणा बने । मन्त्रणा रङ्ग रहस्यहरूका मर्म बने । रङ्ग रहस्यहरूका मर्म रङ्गकर्मीका जीवन दर्शन बने । जीवन दर्शन जीव र लोकलाई हेर्ने दृष्टिकोण । हेरेर देखिने र देखिएका जीवन दर्शनलाई रङ्गको माध्यमबाट लोकलाई अर्पण गर्ने रङ्ग साधन रङ्ग रहस्य बने, हुन् र रहलान् भन्ठान्छु यतिञ्जेल ।
रङ्गकर्मीहरूका रङ्गीन जीवन पाटो जति रहस्यमय छन् उत्तिकै रङ्गपटका रङ्ग रहस्यहरू पनि रहस्यपूर्ण छन् । रङ्ग र रहस्य, रङ्ग र जीवन र आपसमा एक साथ यात्रा भर्छन्ह । रङ्ग नसाँची रङ्गकर्मीको जीवन रङ्गभूमि बन्नै सकोइनन् । रङ्गकर्मीका जीवन रङ्गभूमि रङ्गसार बन्छ । जहाँ रङ्गसार रङ्गभूमि छ त्यहीं रङ्गकर्मीका रङ्गरहस्य उद्घाटन हुन्छ । अनि त भन्न मनलाग्छः जीवन रङ्गसार छ । रङ्गसार जीवन रङ्ग–रहस्यपूर्ण छ । जहाँ रङ्गसार जीवन छ त्यहाँ जीवनमय रङ्ग रहस्यहरूकै व्याप्ति छ । जहाँ रङ्ग रहस्यहरूका व्याप्ति छन् त्यहाँ जीवनमय रङ्गहरूका पनि व्याप्ति रहन्छन् । अनि त व्याप्तिनु रङ्ग रहस्यहरूका रङ्गीन चरित्र भइदिन्छ ।
रङ्ग रहस्यहरू रङ्गीन चरित्र यसकारण चित्रित हुन्छन् कि प्रत्येक रङ्ग स्वयम् आफूमै सबल रसायन रहेका छन् । रङ्ग रङ्गसितै आपसमा घोलिँदा रङ्गरूप बदलिन्छन् । एक रङ्गभित्र विद्यमान रङ्ग रसायन आपैmँमा रहस्यमय बन्छ । रहस्य स्वनिर्मित स्वभाव बन्छ । रहस्य रसायन शास्त्रभरिका विज्ञान पनि ठहर्छ । रहस्य अपार अनन्त ज्ञान सागरका अथाह खानी भण्डारण पनि बन्छ । रङ्गरहस्य विवेकशील प्राणीमात्रका ब्रह्मसूचक रहस्य रहिरहन पनि सक्छ । रङ्ग रहस्यहरूको सीमा रहन्न । रङ्ग रहस्यहरूका घेरा हुन्न । रङ्ग रहस्यहरूका सीमा आकाश बन्छन् । रङ्ग रहस्यहरूका रहस्य रसायन विज्ञान बन्छन् । रङ्ग रहस्यहरूका ज्वालाहरू स्वयम् रहस्यमय पृथ्वीमा भूगर्भ बन्दछ । रङ्ग रहस्यहरू यस निमित्त युग रहस्य बन्दछ । अनि बन्दछ उस्तै जस्तै कि युग रहस्य रहन्छ, युग रहस्य बन्छ ।
प्रत्येक युग रङ्ग रहस्यका सापेक्ष बनेको हुन्छ । युगकै सापेक्ष सामथ्र्यसित रङ्ग रहस्यहरू परिभाषित रहन्छ । यो रङ्ग रहस्यको संसार हो । रङ्ग रहस्यको यो संसारको समाज पनि त रहस्यमय छ । रङ्ग रहस्यका रहस्यमय रङ्ग रहस्यहरूका रहस्यपूर्ण रस स्वादिलो लाग्न थालिरहेछ मलाई । किन हो ? किन ? नै रङ्ग रहस्यहरूका रङ्गीन रहस्य बन्न थालिरहेछ अचेलभरि, मनभरि, मुटुभरि ज्यानभरि भरि । कति ? कति ? रङ्ग रहस्यहरू निर्गुण, निराकार र निरञ्जन लाग्न थालिरहेछ मलाई । रङ्ग रहस्यहरू निर्गुण छन् यस निमित्त कि यसका आफ्नै रूप हुन्नन् । त्यसलाई रूप रङ्गकर्मी कलाकारहरू दिन्छन् । रङ्गरहस्यका रहस्य–गुण तिनै कलाकार हुन् जसले रङ्गहरूमा रहस्यमय प्राण जोड्छन् । प्राण जडिएर रङ्गहरू रहस्यवान बन्छन् । यसो भनौँ कि रहस्य प्राणमय हुन्छ । प्राण रङ्गहरूका रहस्य बन्छन् ।
रङ्गलाई रहस्यमय बनाउने त रङ्गकर्मी पो हुँदारै’छन् । रङ्गकर्मीहरूद्वारा रचित रङ्गाकारहरू जसलाई संसार रङ्गचित्र भन्छन् रहस्यपूर्ण देख्नसक्ने पारदर्शीहरूका पारदर्शी विवेक–ब्रह्म–दृष्टि अझै रहस्यका सागर बन्छन् । आकाश बन्छन् उस्तै जसको निश्चित आकार हुन्नन् । जसको निश्चित रूप हुन्नन् । जसको सस्वर ध्वनि हुन्नन् । जसको आफ्नै दृष्टि नै हुन्नन् । जसको पाइलै नि हुन्नन् । आकार विहिन रङ्ग रहस्यहरू त्यसैले अनाकृति भित्रका सार्थक आकार बन्छन् । रङ्ग रहस्यहरू विनारूपकै स्वरूप लिन्छन् । स्वरूप आफ्नै रूप । स्वरूप आफ्नै रङ्ग रहस्य । आफ्नै रूप मेरै रूप । तिनकै रूप । उनकै रूप । कलाकारको रूप जसले रङ्ग विन्याशद्वारा रङ्गहरूमा रहस्य भर्छन् । रङ्गहरूमा रहस्यकै जीवदान गर्छन् । भन्ने आँट आउँछ त्यसैले कि रङ्ग रहस्यहरूका रहस्य गर्भ रङ्गकर्मीहरूका अभ्यन्तर चेत हुन् । रङ्ग रहस्यहरूका विश्लेषक रङ्गकर्मका पारखीहरू हुन् ।
रङ्ग रहस्यहरूका पाइलै हुन्नन् । तैपनि रङ्ग रहस्यहरू दिगन्त यात्रा भरिरहेका हुन्छन् । पाइला विनाका यात्रा ! कस्ता यात्रा बन्लान् ? अनौठो यात्रा ! यात्रा जुन आफ्नै पाइलामा हिँड्दैनन् । पाइला विनाका यात्रा हिँडिन्छन् तैपनि । हिँडिरहेकै हुन्छन् निरन्तर । अनन्त कालीन युगबोधसित अनवरत । युग बोधिवृक्षझैँ उम्रिरहने मानव आत्माहरूसित । बोधितत्वका संवाहक मानष कुञ्जका कुवेरहरूसित । कुवेरहरू लक्ष्मीका साधकहरू पनि बन्छन् । कुवेरहरू सरस्वतीका साधकहरू पनि बन्न सक्छन् । बन्न सक्छन् अनि दिगन्त चाहराइहरूका अनन्त यात्राका रङ्ग–रहस्यहरूका स्वच्छन्द पाइलाका विवेकशील यात्रुहरू नि । मलाई नि रङ्ग–रहस्यहरूका रङ्गीन तर निर्गुण यात्राहरू भर्न मन लागिरहन्छ, त्यसैले । म वर थापिरहेछु जीवन–पात्रभरि निर्गुण, निराकार, निरञ्जन सञ्चेतनाका संवाहकसितै निर्गुण, निराकार, निरञ्जन रङ्ग रहस्यहरू सितै । जसको गुण छैन । निर्धारित र निश्चित त्यही त हो निर्गुण । जसको आकार हुन्न उही निराकार । जसको रञ्जन छैन उही निरञ्जन । निरञ्जन जसमा विना रञ्जना नै लालायित पार्न सक्ने विमोहक शक्ति अन्तरनिहित रहन्छ । निरञ्जन जो आफैमा निश्वर अनि रङ्गविहीन रहेको हुन्छ । जो कसैलाई आकर्षण गर्ने स्वभाव वरण गर्दैन उसैलाई आराधना गर्न मन लाग्न थालिरहेछ अचेल ममा । सायद यसैले रङ्ग–रहस्यहरूले मलाई आफूतिर खिचिरहेछ । सम्भवतः त्यसैले म नि रङ्ग रहस्यहरूमाथि खनिँदै गरेको छु स्वधर्मी सञ्चेतना तपतपाएर !
अनाकारभित्रका आकृतिहरू पहिल्याउनु रङ्ग रहस्यहरू पहिल्याउनुु बन्छ । आकारसितका अनाकृतिहरू पहिल्याउनु पनि उस्तै रङ्ग रहस्यहरू बुझ्ने प्रयास बन्छ । यतैकतै म रूमलिन्छु । घोरिरहन्छु रङ्ग रहस्यका रहस्यमय रङ्ग रचनामाथि । देखिरहेछु कि कैयन रङ्गाकृतिसित सटेका रङ्ग रहस्यहरू साकारमा अझै निराकारमय रहेको । त्यस्ता आकारै आकारसित निराकारमय रङ्ग रहस्यहरू फेला पार्न रङ्ग रहस्यहरूसित मित्रता गाँसिरहेछु अचेलभरि । आकारै आकारमा अझै साकार खोजिरहेका रङ्ग रहस्यहरू मैसित भन्न आउँछन् । ‘ग्वंगः, तिमीले रङ्गाकृतिसित सटेका अमूर्तताहरूलाई मूर्त पार्ने व्याख्यान भर ।’ उत्साहित हुन्छु म । प्रोत्साहित रहन्छु उस्तै अनि । म मितेरी साँघु निर्माणमा छु । आऊ ! रङ्ग भूमिका रङ्ग रहस्यका पात्रहरू आऊ ! लाग्छ उत्साहित बन्न पनि रङ्ग रहस्यसित मितेरी साँघु नबनाई हुन्न मैले । म मितेरी साँघु निर्माणमा छु । आऊ रङ्गभूमिका रङ्ग–रहस्यका पात्रहरू आऊ । मितेरी साँघु तरेरै रङ्ग रहस्यहरूका रहस्यहरू बुझ्ने प्रयासका पाइला चालौँ । चाल्दै गरौँ रङ्ग भूमिमाथि छताछुल्ला रङ्गरसका रहस्यहरू बटुल्ने प्रयासका पाइलाहरू । लाग्छ, म नि त पाइलाहरूकै पाइला हुँ । मेरा पाइलाका आफ्नै डोब छन् । तैपनि मेरा पाइलाहरूका पनि अग्रज पाइलाहरू छन् । तिनका पनि डोब छन् उस्तै आफ्नै आफ्ना । डोबहरू कति मेटिए कति मेटिँदैछन् । मेरो पाइलाका डोबहरू मेटिन पनि के बेर ? डोबहरू मेटिन्छन् रङ्ग रहस्यहरू बुझाउने चेष्टा गर्छन् मलाई । डोबहरू मेटिन्छन् । पाइलाहरू रोकिन्छन् । जीवन गति विसर्जित हुन्छन् । रङ्ग रहस्यहरू यस्तै छन् । पाइलै पाइलाका रङ्ग रहस्यहरूका पाइलामाथि एउटा फेरि पटाक्षेप हुन्छ, भइरहन्छ नै ।
रङ्ग रहस्यहरू सदा एकनास नरहनु व्यक्तित्वको वैयक्तिक सिर्जनशीलता र विवेक ब्रह्मका प्रयोजनशीलताका द्योतक गुण–स्वभाव बन्छ । सिर्जनशीलता व्यक्ति–व्यक्तिमा अन्तरनिहित सामथ्र्यको परिचायक क्षमता बन्छ । यस्ता अन्तरनिहित क्षमता व्यक्ति व्यक्तिको सुन्दर शैली शृङ्गार अनि शालीन विचार–ब्रह्मका द्योतक रहन्छ । जसरी व्यक्ति व्यक्तिको आकृति र स्वभावमा अन्तर रहन्छ ! त्यस्तै स्वर र वचन–बोलीमा नि रहेकै छ । यिनै अन्तरनिहित अन्तरङ्ग नै मानिसहरू बीचका रङ्ग रहस्यहरूका रहस्य बन्छ । व्यक्तित्व विकासमा व्यक्तित्वववादी विकसित विश्लेषणका आधारशीला यहीँबाट निर्माण र विनिर्माण हुन थाल्छ । प्रत्येक सिर्जनशील व्यक्तित्व रङ्ग रहस्यहरूका आधारशीला बन्न पुग्छ । हामी यस्तै रङ्ग रहस्यका रहस्यहरू बन्छौँ । बनाउने प्रयासरत रहन्छौँ । रङ्ग रहस्यहरू पनि अनि यिनै रहस्यहरूका रङ्ग बन्न पुग्छन् । रङ्ग रहस्यहरू मानवीय चेत रङ्गमा मुसुक्क मुस्काउँछन् ! झमझम परेली झिम्काउँछन् । यहीँ निर हो मलाई नि रङ्ग रहस्यहरूका रहस्यगान गाउन मन लाग्न थाल्छ । कि यसमै त हो मलाई नै एक अर्को लय हाल्ने चेत खुल्न थाल्छ । रङ्ग रहस्यका गीतका भाकाहरूमा एक सुरिलो सङ्गीतका अर्थात् साङ्गितिक धुन ।
वेदध्वनिहरू रङ्ग रहस्यहरूका रङ्गीन शङ्खनाद बनेर गुञ्जिरहेका छन् । विवेक–ब्रह्महरूमा हाम्रा । वेदध्वनि शङ्खनादसितै विगुल बजेथे र बजिरहेको बजी नै रहे । घन्किन्छन् यी वेदध्वनिहरू हाम्रा चेतका अन्तरालसम्मै गुञ्जिने गरी म चाहन्छु वेदध्वनिमा निहित नादमय रङ्ग रहस्यहरूका चेत हामीमा सस्वर सञ्चेतना भरेर खुलोस् ! कि हामी रङ्ग रहस्यहरूका वेद–वाणीहरूका स्वर गुञ्जन बन्न सकौँ र सिकौँ । सिक्दो स्वर गुञ्जनका स्वादिला रसमय रङ्ग रहस्यहरूलाई बाँच्नुको रङ्ग रहस्यमा रङ्गाउन सकौँ र सकौँ । हामी एउटा कामना बनौँ ! हामी एउटा भावना बनौँ ! हामी एउटा कर्म बनौँ ! कर्मलाई हामी क्रियात्मक शक्तिमा परिणत गर्न सिकौँ ! क्रियात्मक सीप रङ्गहरूकै सार्थक सीप र अभिव्यञ्जना बनाउन सिकौँ ! रङ्ग रहस्यहरूले छोपिरहेछन् मलाई । टुनामुना लाएझैँ लागिरहेछ यसबेला ममाथि रङ्ग रहस्यहरूका झारफुके र झाँक्रीहरूले अहिले । रङ्ग रहस्यहरूका माद बुई चढ्न आइरहेछन् मलाई । रङ्ग रहस्यहरूका माद चढाइ अलिकति बाँड्ने चेष्टाले कुत्कुत्याइरहेछ मलाई । आऊ ! हामी आपसमा रङ्ग रहस्यहरूका स्वाभिमान चेतहरूलाई हाम्रै साझा सम्पदा बनाऔँ । मात्र रङ्ग रहस्यहरूका सार्थक वसन्तवाटिकामा नेपालको नेपाली रङ्ग रहस्यहरूका रङ्गीचङ्गी रङ्ग रहस्य वाटिका !
जन्ममिति १९९२ कार्तिक
निष्ठाछेँ
सूर्यविनायक भक्तपुर
प्रतिक्रिया