काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै झापाका दुई मतदान स्थल सारिएको छ ।
असहज परिस्थितिका कारण मतदान स्थल सारिएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालका अनुसार मतदानस्थल रहेका स्वास्थ्य केन्द्र नगर अस्पतालमा परिणत भएर बिरामीको चाप बढेका कारण अर्को स्थानमा सारिएको हो । उनका अनुसार मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी स्वास्थ्य कार्यालय र विर्तामोड नगरपालिका–३ मा रहेको विर्तामोड स्वास्थ्य केन्द्रबाट सारिएको हो । हाल दुवै स्वास्थ्य कार्यालय नगर अस्पतालमा स्तरोन्नति भएका छन् ।
धुलाबारी स्वास्थ्य केन्द्रको मतदानस्थललाई सोही वडाको वडा कार्यालय र विर्तामोड स्वास्थ्य केन्द्रको मतदानस्थललाई नजिकै रहेको डोमालाल राजवंशी रङ्गशालामा सारिएको छ ।
झापामा विगतमै रहेका २८५ मतदानस्थल नै कायम रहने छन् । थपिएका ३५ हजार ९८२ जना नयाँ मतदाताको आधारमा मतदान केन्द्र थपिने छन् । एउटा मतदान केन्द्रमा एक हजार जना मतदाता हुनेछन् । आगामी प्रतिनिधिसभाको निर्वाचनमा ८०० बढी मतदान केन्द्र थपिने अनुमान रहेको छ । झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ ।
प्रतिक्रिया