काठमाडौँ- मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा किराँत समुदायले आज देशभर उधौली पर्व पितृ सम्मान र प्रकृति पूजासहित उल्लासपूर्वक मनाइरहेका छन्।
विभिन्न किराँत जातिहरू—याक्खाका चासुवा, सुनुवारका फोलस्यादर, राई समुदायका उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम—विभिन्न नाम भए पनि सबैको मर्म उधौली पर्वकै रूपमा एकरूप देखिन्छ।
लिम्बू समुदायले तीन दिनअघि नै चासोक तङ्नाम पर्व मनाउन सुरु गरिसकेका छन् भने आज सबै किराँत समुदायले संयुक्त रूपमा उधौली सकेलाको मुख्य सांस्कृतिक अनुष्ठान पूरा गरेका छन्। अनुसन्धानकर्ता कीर्तिकुमार दुमी राईका अनुसार किराँतभित्र विभिन्न जातिहरूले फरक नाम दिए पनि यो पर्व उधौलीकै नामले व्यापक रूपमा चिनिन्छ।
बाली पाकेपछि इष्टदेवतालाई नयाँ अन्न चढाउने, पितृलाई स्मरण गर्ने र आगामी वर्षका लागि आशीर्वाद माग्ने परम्पराअनुसार आज बिहानैदेखि महिला–पुरुष जातीय पहिरनमा सजिएर च्याब्रुङ बाजाका तालमा धाननाच नाच्दै पूजा स्थलमा पुगेका हुन्।
ललितपुर स्थित सानो हात्तीवन किराँतकालीन महत्वपूर्ण तीर्थस्थल हो, जहाँ आज विशेष भीड देखिएको छ। लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई इष्टदेवता मान्दै पूजा गर्छन् भने समग्र किराँत समुदाय तागेरा निङ्वाफुमाङलाई अदृश्य शक्तिका रूपमा पुज्ने गर्छ।
पूजा सम्पन्न भएपछि चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका सांस्कृतिक नृत्य तथा विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै समुदायले पर्वलाई उत्साहपूर्वक मनाउँदै आएका छन्।
जाडोमा तल्लो भूभागतिर र गर्मीयाममा माथिल्लो लेकाली क्षेत्रमा बसाइ सर्ने परम्परासँग पनि उधौली–उँभौली पर्वको सम्बन्ध जोडिएको अनुसन्धानकर्ता राई बताउँछन्। उभौलीमा खेती सफल होस् भनी प्रार्थना गरिन्छ भने उधौलीमा बाली सफल भएको कृतज्ञतास्वरूप साकेलालाई धन्यवाद दिने विश्वास रहिआएको छ।
खस आर्यको धान्य पूर्णिमा, नेवार समुदायको योमरी पूर्णिमा र किराँतको उधौली पर्व सबैमा नयाँ बाली देवी–देवतामा चढाउने समान सांस्कृतिक भाव रहेको मानिन्छ।
सरकारले यस पर्वको अवसरमा विगतमा काटिएको बिदा पुनः प्रदान गरिरहेको छ। आ
प्रतिक्रिया