बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की प्रमुख खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। उनी पछिल्ला २० दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन्।
लामो समयदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह र आँखासम्बन्धी समस्याबाट पीडित खालिदा जियाको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका छन्।
खालिदा जिया सन् १९९१–१९९६ र २००१–२००६ सम्म दुई कार्यकाल बंगलादेशकी प्रधानमन्त्री रहिन्। उनी पूर्वराष्ट्रपति जियाउर रहमानकी पत्नी हुन्। उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान हालै लन्डनबाट स्वदेश फर्किएका छन्।
सन् २०१८ मा भ्रष्टाचार मुद्दामा १० वर्षको जेल सजाय पाएकी खालिदा जिया शेख हसीनाको सत्ता पतनपछि २०२४ अगस्टमा रिहा भएकी थिइन्। त्यसपछि उपचारका लागि लन्डन गएकी उनी यसै वर्ष मे महिनामा स्वदेश फर्किएकी थिइन्।
खालिदा जिया अवामी लिगकी नेतृ शेख हसीनाकी कडा राजनीतिक प्रतिद्वन्द्वीका रूपमा चिनिन्थिन्। बंगलादेशको राजनीतिमा लामो समयसम्म यी दुई नेतृबीचको प्रतिस्पर्धालाई ‘ब्याटल अफ बेगम्स’ भनेर चिनिँदै आएको थियो।
प्रतिक्रिया