ललितपुर । नेपाल स्रष्टा समाजले चर्चित निबन्धकार स्वर्गीय कृष्णचन्द्रसिंह प्रधानको सत्वार्षिकीको अवसर पारेर आत्मपरक निबन्ध गोष्ठी सम्पन्न गरेको छ ।
समाजको १९औँ स्थापना दिवसको अवसरमा लिटिल एन्जल्स स्कूलको सह–आयोजनामा बिहीबार उक्त गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा समकालीन निबन्धकारहरूले आ–आफ्ना निबन्ध वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निबन्धकार डा. माधव पोखरेलले निबन्धको अंश वाचन गर्दै नेपाली साहित्यमा निबन्ध विधा अपेक्षाकृत रूपमा उपेक्षित रहेको उल्लेख गरे । उनले निबन्धकारलाई गुरु मानेर निबन्ध लेखनसम्बन्धी कार्यशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
यसैगरी ‘वर्तमान नेपाली निबन्धको परम्परा र प्रवृत्ति’ विषयमा वरिष्ठ समालोचक प्रमोद प्रधानले विचार व्यक्त गर्दै नेपाली निबन्ध लेखनको आधुनिक कालको प्रारम्भमा दुई धार देखिएको बताए । उनले २०७० को दशकपछि आत्मपरक निबन्ध लेखनमा केही वृद्धि देखिएको उल्लेख गर्दै आत्मपरक निबन्धलाई निश्चित परिभाषाभित्र बाँध्न कठिन हुने धारणा राखे ।
गोष्ठीमा बोधराज पौडेल, विष्णुबहादुर जिसी, भागवत खनाल, रञ्जना निरौला, श्रीबाबु कार्की, ज्ञानु अधिकारी, डा. चेतनाथ कँडेल ‘हरित’, डा. मानसाग्नी, ज्ञानेन्द्र विवश, भिष्म उप्रेती, डा. खगराज बराल, डा. रजनी ढकाल, प्रा. डा. ज्ञानु पाण्डे, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, मञ्जुल, मुकुन्दराज शर्मा लगायत निबन्धकारहरूको निबन्ध वाचन गरिएको थियो ।
वाचन गरिएका निबन्धमाथि टिप्पणी गर्दै समालोचक डा. जीवराज बस्यालले ती निबन्धहरू निजात्मक, अनुभूतिमय तथा कतिपय मौलिक कवितात्मक चेतले भरिएका रहेको बताए । उनले निबन्धहरूमा स्मृतिबिम्बको प्रभावकारी प्रयोग देखिएको पनि उल्लेख गरे ।
कार्यक्रममा नेपाल स्रष्टा समाजकी सदस्य रञ्जना निरौलाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सह–आयोजक लिटिल एन्जल्स स्कूलका प्रिन्सिपल तथा निबन्धकार मुकुन्दराज शर्माले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए भने सहजीकरण कार्यसमिति सदस्य प्रदीप सापकोटाले गरेका थिए ।
नेपाल स्रष्टा समाजको स्थापना दिवसको अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा आत्मपरक निबन्ध गोष्ठी सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा निबन्धकार तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया