काठमाडौँ । नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवारहरू टुंग्याएसँगै पार्टीभित्र देखिएको असन्तोषका बीच उपमहासचिव योगेश भट्टराईले नेता-कार्यकर्तालाई धैर्य र एकता कायम गर्न आग्रह गरेका छन्।
एमाले केन्द्रीय सचिवालयको शनिबार रातिको बैठकले उम्मेदवार चयन गर्दा भट्टराईसहित गोकुल बाँस्कोटालगायत केही नेताहरूको नाम सूचीमा समावेश भएन। यसपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले निर्णयप्रति विचलित नहुन आग्रह गरेका हुन्।
उनले लेखेका छन्,’नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो स्थान र हैसियतअनुसार सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’
यसअघि ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका भट्टराई यसपटक भने टिकटबाट वञ्चित भएका छन्। उनीसँगै फरक धारमा रहेका उपाध्यक्ष गोकर्ण विष्टले भने आफ्नो अघिल्लो निर्वाचन क्षेत्र गुल्मी- २ बाट पुनः टिकट पाएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली झापा- ५ बाट उम्मेदवारी दिने भएका छन् भने उपाध्यक्ष विष्णु पौडेल रुपन्देही- २ बाट चुनावी मैदानमा उत्रिने छन्।
प्रतिक्रिया