काठमाडौँ । शहीद दिवसको अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी शहीदहरूको सम्मान तथा स्मरण गरिएको छ। प्रजातन्त्र स्थापना, पुनर्स्थापना तथा विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गरेका ज्ञात तथा अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको हो।
शहीद दिवसका दिन काठमाडौँको लैनचौरस्थित शहीद पार्क (शहीद स्मारक) मा आयोजित मुख्य समारोहमा शहीदहरूको सम्झनामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो।
कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, अन्तरिम सरकारका मन्त्रीहरू तथा विभिन्न उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा राणाकालीन आन्दोलन तथा त्यसपछिका लोकतान्त्रिक संघर्षहरूमा बलिदान दिने शहीदहरू—शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठलगायतको योगदान स्मरण गरिएको थियो।
माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रूपमा विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको छ। आज सम्पन्न कार्यक्रमले शहीदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै राष्ट्रिय एकता, लोकतन्त्र तथा संविधानको संरक्षणप्रति प्रतिबद्धता दोहोर्याएको आयोजकले बताएका छन्।
प्रतिक्रिया