काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चार सम्पर्क नपुग्ने मतदानस्थलको पहिचान गरी वैकल्पिक सम्पर्क व्यवस्था मिलाउने निर्णय गरेको हो।
बैठकले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना फैलाउने र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूमाथि निगरानी बढाउने निर्णयसमेत गरेको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्ने विषयमा बैठक केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
उनका अनुसार निर्वाचनसम्बन्धी सही र भरपर्दो सूचना सर्वसाधारणसम्म पु¥याउन आवश्यक व्यवस्था गरिनेछ भने सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई अझ सशक्त र जिम्मेवार बनाइनेछ।
बैठकले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद–बिक्री तथा दुरूपयोग नियन्त्रण गर्ने निर्णय पनि गरेको छ। साथै, निर्वाचनमा सुरक्षाकर्मी परिचालन, उम्मेदवारको सुरक्षा व्यवस्थापनलगायतका विषयमा पनि विस्तृत छलफल भएको प्रवक्ता काफ्लेले बताए।
प्रतिक्रिया