काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
विनयी त्रिवेणी गाउँपालिका- २ घिउखोला नजिक गए राति दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुनौलीबाट पूर्वतर्फ आउँदै गरेको भारतमा दर्ता भएको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा अन्य सवारीसाधनसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र सोही मोटरसाइकलमा पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्।
यस्तै, यात्रीवाहक बसमा सवार अन्य छ जना पनि घाइते भएका छन्। घाइते हुनेमा रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शंकर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन्।
घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेका छन् र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि केही समय अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया