काठमाडौँ । इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ । ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्त्वपूर्ण मानिन्छ ।
फागुनको अन्तिम सातादेखि उत्पादन सुरु भएको चियाले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गरेको चिया व्यवसायी जीवन पाण्डेले बताए। चियाको पहिलो टिपाइलाई विशेष सावधानीका साथ सङ्कलन गरिन्छ । चियाको कोमल पातबाट उच्च गुणस्तरको उत्पादन हुने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको माग पनि बढी हने गरेको व्यवसायी पाण्डेको भनाइ छ ।
इलामका चिया उद्योगी शरद सुब्बाका अनुसार यस वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट टिपाइ सुरु भएको छ । उनले इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको जानकारी दिए ।
इलामको जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चालकसमेत रहेका सुब्बाले यसवर्ष हरियो पत्तीको मूल्य गत वर्षकै हाराहारीमा कायम गरिएको बताए । किसानलाई प्रतिकिलो ६५ रुपियाँदेखि प्रतिकिलो रु एक हजार ५०० सम्म मूल्य दिने व्यवस्था गरिएको उनको भनाइ छ ।
स्थानीय किसानका लागि चियाको पहिलो टिपाइ वर्षको आशाको सुरुवात जस्तै हुने गर्छ । सूर्योदय नगरपालिका–१ का चिया किसान जगन्नाथ अधिकारीका अनुसार पहिलो टिपाइको चिया गुणस्तरका हिसाबले राम्रो हुने भएकाले मूल्य राम्रो पाइन्छ ।
माई नगरपालिका–५ का किसान बुद्ध लिम्बूले यसवर्ष कात्तिकयता पर्याप्त वर्षा नपरेकाले जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा चैतको पहिलो सातापछि मात्र टिपाइ सुरु हुने सम्भावना भएको बताए ।
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार इलाममा करिब सात हजार ६०० भन्दा बढी किसानले सात हजार ३०० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् भने जिल्लामा ३६ वटा ठूला चिया बगान सञ्चालनमा छन् ।
प्रतिक्रिया