काठमाडौँ । लामो समयको खडेरीपछि परेको हिउँदे वर्षाले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ । समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान वर्षासँगै राहत महसुस गर्न थालेका हुन् ।
विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न तरकारी बालीका लागि यो वर्षा अत्यन्तै उपयोगी बनेको टेम्केमैयुङ–५ का स्थानीय किसान अडिबहादुर विष्टले बताए । खडेरीका कारण हिउँदे बाली सुक्दै गएको अवस्थामा वर्षा भएपछि किसानमा नयाँ आशा पलाएको उनको भनाइ छ।
खेतबारीमा चिस्यान अभावका कारण ओइलिन थालेका बाली वर्षापछि पुनः हरियाली देखिन थालेका छन् । यसले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि त यो वर्षाले झन् राहत बनेको छ ।
स्थानीय किसानका अनुसार बर्सातअघि माटो अत्यधिक सुक्खा हुँदा बालीको वृद्धि प्रक्रिया प्रभावित बनेको थियो । तर, वर्षाले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ । यसले उत्पादन मात्र नभई बालीको गुणस्तरमा समेत सुधार आउने विश्वास किसानले व्यक्त गरेका छन् । मकै छर्ने ‘सिजन’मा पानी परेपछि किसानलाई थप सहजता भएको छ।
प्रतिक्रिया