+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँ महानगरले वैशाख १ देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै

शब्द-यात्रा
२०८२ चैत २०, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

सार्वजनिक यातायात रातिको समयमा अभाव हुँदा यात्रुहरूले महँगो विकल्प प्रयोग गर्नुपर्ने समस्यालाई ध्यानमा राख्दै यस्तो सेवा सुरु गर्न लागिएको हो।

महानगरका अनुसार पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म सञ्चालन हुनेछ। यो उत्तर–दक्षिण दिशामा पर्ने करिब १६ किलोमिटरको एकतर्फी रुट हो।

त्यसैगरी दोस्रो रुट थानकोटबाट सुरु भई सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ। पूर्व–पश्चिम दिशामा पर्ने यो रुट करिब २० किलोमिटर लामो हुनेछ।

यी दुई रुटमा चारवटा विद्युतीय बस सञ्चालन गरिने महानगरले जनाएको छ। सेवा सुरु भएपछि साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस चल्नेछन् र प्रत्येक २० मिनेटमा बस उपलब्ध हुनेछ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले रातिको समयमा सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न यो सेवा महत्वपूर्ण हुने बताएकी छन्। उनका अनुसार यसले विशेषगरी महिला, किशोरी र विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

बसहरूमा सिसिटिभी क्यामरा जडान गरिनेछ भने यात्रु सुरक्षाका लागि नगरप्रहरी पनि खटाइने व्यवस्था गरिनेछ। महानगरले यो सेवामार्फत आधुनिक, सुरक्षित र दिगो सार्वजनिक यातायात प्रणाली विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा