काठमाडौँ- धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयलाई बेवास्ता गर्दै वैशाख ४ गतेदेखि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ।
उपमहानगरका मेयर गोपाल हमालले बिहीबार सूचना जारी गर्दै भोलिदेखि भर्ना प्रक्रिया सुरु गरी वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेका हुन्।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले चैत २६ गते सबै स्थानीय तहलाई पत्राचार गर्दै वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय जानकारी गराएको थियो।
तर स्थानीय सरोकारवालाहरूबाट ढिलो भर्ना र पठनपाठन सुरु गर्दा शैक्षिक गतिविधिमा अवरोध आउने, वार्षिक कार्यघण्टा अपुग हुने तथा शिक्षाको गुणस्तरमा असर पर्ने सुझाव आएपछि उपमहानगरले आफ्नो निर्णय लिएको जनाएको छ।
सोही आधारमा नगर शिक्षा समितिको बिहीबार बसेको बैठकले उपमहानगरभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूलाई वैशाख ४ देखि ११ गतेसम्म भर्ना सम्पन्न गर्न र वैशाख १४ गतेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
प्रतिक्रिया