+
Search

ताजा अपडेट +

पपुलर +

भिमफेदी कारागारबाट फरार १३३ कैदी अझै बेपत्ता, खोजी तीव्र

शब्द-यात्रा
२०८३ बैशाख १३, आइतबार

काठमाडौँ । बागमती प्रदेशअन्तर्गत मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएका कैदीबन्दीमध्ये अझै १३३ जना कारागार फर्किएका छैनन्।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर भागेका ४४० जनामध्ये हालसम्म २९४ जना मात्र पुनः कारागारमा फर्किएका छन्।

कारागार प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट फरार भएकामध्ये २९४ जना फर्किएका छन् भने अन्य कारागारबाट भागेका ७६ जना पनि नियन्त्रणमा लिएर सम्बन्धित स्थानमा फर्काइएको छ। त्यस्तै, फरार भएका ३९ विदेशी कैदीमध्ये १३ जना मात्रै फिर्ता आएका छन्।

अन्य कारागारबाट भिमफेदी ल्याइएका कैदीमध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको छ भने २२ जना हाल भिमफेदीमै राखिएको छ।

गत भदौ २४ गते राति करिब १ बजे कारागारका तीनवटा गेट तोडेर पश्चिमतर्फको पर्खाल भत्काउँदै ‘क’ ब्लकबाट २६० र ‘ख’ ब्लकबाट १८० कैदी फरार भएका थिए।

फरार कैदीहरूको खोजी अभियान तीव्र पारिएको छ। विभिन्न स्थानबाट पक्राउ परेका कैदीहरूलाई पुनः कारागारमा बुझाइएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा