+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

शब्द-यात्रा
२०८३ बैशाख २८, सोमबार

सरकारी कार्यालयमा सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरिएकाे छ । सरकारले संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा आजदेखि जेठ १ गतेसम्म सरसफाइ सप्ताह सुरु गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको थियाे । उक्त राष्ट्रिय अभियानको औपचारिक शुभारम्भ आज बिहान साढे ८ बजे वीर अस्पतालबाट गरिएकाे थियाे । अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ मा उल्लेख गरिएकाे छ ।

सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परेकाे र उक्त सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो ।

मार्गदर्शनअनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिह्नहरू स्पष्ट र व्यवस्थित हुनुपर्नेछ भने चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरिनेछ । मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिनेछ । त्यसैगरि शौचालयलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ भने हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्नेछ । शौचालयहरू महिलामैत्री, ‘स्यानिटरी डिस्पोजल’ सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्नेछ ।

त्यस्तै सरकारी कार्यालयहरूले कम्तीमा दुई प्रकारका ‘डस्टबिन’ राखी कुहिने र नकुहिने फोहोर छुटाउनुपर्नेछ । पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ भने कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्ने, ‘पार्किङ’ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ ।

कार्यालयमा ‘हेल्प डेस्क’को व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनुका साथै सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा