जिल्ला प्रशासन कार्यालय जुम्लाले अवैध रूपमा नदीजन्य बस्तु उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रूपमा सञ्चालन हुने गरेको जनगुनासो व्यापक आउने गरेकाले प्रशासनले नदीमा अवैध रूपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने बताएकाे हाे ।
मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना र विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यक्रम आयोजना गरेर प्रशासनले विशेषगरी तिला र हिमा नदीमा अवैध रूपमा नदीजन्य र खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेकाले तत्काल त्यसलाइ बन्द गर्नपर्ने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।
जिल्लामा हुने विपद्को बैठकमा पटक पटक अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनुवाइ नभएको उल्लेख गर्दै उनले विना दर्ता र अनुमतिविना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने समेत अधिकारी पौडेलकाे भनाइ रहेकाे छ । उनले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने बताए ।
जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा बिक्री गर्दै आएकाले नदीनालाबाट जबर्जस्ती ढुङ्गा, गिट्टी, बालुवा उत्खननले भविष्यमा ठूलो विपद्को समस्या खडा गर्ने भएकाले त्यसलाई तत्काल राेक्नु पर्नेमा सम्वन्धित निकायकाे ध्यानाकर्षण गराइएकाे थियाे ।
स्थानीय निकायका जनप्रतिनिधीहरुले पनि जथाभावी उत्खनन् गरिएका नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवालाई बन्द गर्नु पर्नेमा धारणा राखेका छन् । त्यसैगरि क्रसर उद्योगको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्ने कार्यक्रमका सहभागीको भनाइ रहेकाे थियाे ।
प्रतिक्रिया