+
Search

ताजा अपडेट +

पपुलर +

मोरङमा विद्यालयको लेटरप्याडबाट निजी जग्गा बिक्री: १४ कट्ठा जग्गा विवादमा

शब्द-यात्रा
२०८३ जेठ ६, बुधबार

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयले आफ्नो लेटरप्याड प्रयोग गरेर व्यक्तिको निजी जग्गा बिक्री तथा नामसारी गरेको तथ्य सार्वजनिक भएको छ। कानुनी रूपमा जग्गा बिक्री र नामसारी गर्ने अधिकार मालपोत कार्यालयलाई मात्र भए पनि विद्यालयले आफूलाई जग्गाको मालिकझैँ प्रस्तुत गर्दै विभिन्न व्यक्तिलाई जग्गा बाँडेको र नामसारी गरेको कागजात फेला परेको छ। ती कागजातमा विद्यालयका प्रधानाध्यापकको हस्ताक्षर र शुल्क लिएको विवरणसमेत उल्लेख छ।

यो विवादित जग्गा ६२ वर्षीय रोहितराम फुयालको नाममा रहेको १४ कट्ठा ३ धुर क्षेत्रफलको हो। फुयालसँग अहिले पनि सक्कल लालपुर्जा सुरक्षित छ र उनी निरन्तर तिरो (कर) तिरिरहेका छन्। तर उक्त जग्गामा अहिले १४ परिवारले घर बनाएर बसिरहेका छन्। उनीहरूले विद्यालय वा तत्कालीन पञ्चायतसँग जग्गा खरिद गरेको दाबी गरे पनि वैधानिक लालपुर्जा भने छैन। यो समस्या २०३९ सालमा रोहितरामका बुबा नरपति फुयाललाई जागिर र अन्य जग्गा दिने आश्वासन देखाएर जग्गा हस्तान्तरण गराइएको घटनाबाट सुरु भएको बताइएको छ।

फुयाल परिवारले न्यायको माग गर्दै गाउँपालिका र प्रशासनमा निवेदन दिएका छन्। गाउँपालिकाले छलफल गर्दा विद्यालयबाट जग्गा बिक्री भएको तथ्य देखिएको जनाएको छ भने प्रमुख प्रशासकीय अधिकृतले जग्गा कानुनी रूपमा फुयालकै नाममा रहेको स्वीकार गरेका छन्। विद्यालयले निजी जग्गा बिक्री तथा नामसारी गर्नु गैरकानुनी कार्य भएकाले संलग्न व्यक्तिमाथि कारबाही हुनुपर्ने आवाज उठिरहेको छ, तर हालसम्म विवाद समाधान हुन सकेको छैन।

विद्यालयको जग्गा किनबेच गर्दा प्रधानाध्यापकको रूपमा तुलाराम गुरुङ कार्यरत थिए भने तत्कालीन गाउँ विकास समितिको सचिव तारा काफ्ले थिए । काफ्ले २०५४ सालको निर्वाचनमा बयरवन गाविसको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा कानेपोखरी गाउँपालिकाको अध्यक्षमा पनि निर्वाचित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा