+
Search

ताजा अपडेट +

पपुलर +

पाँचथरमा बाढीपहिरोले सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

शब्द-यात्रा
२०८३ जेठ ९, शनिबार

अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुगेको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरू, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुगेको हो ।

बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको बताइएको छ । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुगाएको छ ।

निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको (ओयाम–चिवाभञ्ज्याङ खण्ड) पूर्ण रूपमा अवरुद्ध भएको छ । याङवरक–३ स्थित रिजाल भिरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रूपमा बगाएको छ ।

यस्तै, पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ । हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ ।

गए राति आएको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा