पूर्वी नेपालमा अविरल वर्षासँगै बाढी र पहिरोले वितण्डा मच्चाएकाे छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ । शुक्रबार रातिदेखि परेको भीषण वर्षाले तमोर र दोभाने खोलामा पानीको बहाव बढाउनुका साथै पहाडी क्षेत्रमा पहिरो खस्दा स्थानीय जनजीवन अस्तव्यस्त बनेको हाे ।
प्राकृतिक विपत्तिले याङवरक–१, लाम्बा खोलाका मोहनलाल खवास, कविर खवास र गंगाप्रसाद बेघाको दुई तले घरहरू पहिरोले बगाएकाे छ । पहिराेले घर बगाएपछि विस्थापित भएका परिवार छिमेकीकाे घरमा आश्रय लिएर बसेका छन् भने पशुचाैपाय समेत बाढीले बगाएकाे प्रहरीले जनाएकाे छ ।
यता बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरएबल पुल बगाएको छ । त्यसैगरि विभिन्न खोलानालामा रहेका झोलुङ्गे तथा पक्की पुलहरूमा क्षति पुग्दा स्थानीय आवतजावत समस्या हुनुका साथै मध्यपहाडी राजमार्गको च्याङथापु–थर्पु खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको बताइएकाे छ ।
बाढी–पहिरोले दर्जनौँ भौतिक संरचना,जलविद्युत् आयोजना,खानेपानी योजनालगायतमा क्षति हुनुका साथै सञ्चार सम्पर्क समेत विच्छेद भएकाले उद्धार र राहत कार्यमा कठिनाइ भइरहेको छ ।
त्यसैगरि ताप्लेजुङकाे तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल पनि बाढीले बगाएको छ । वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्लेजुङ) र पाँचथरको हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने उक्त पुल बाढीले बगाएको हो ।
आठ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुलको ४० देखि ४५ प्रतिशत भौतिक काम सम्पन्न भएकाे अवस्थामा पुल बाढीले बगाएकाे हाे । एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको थियाे भने निर्माण स्थलमा भएकाे अन्य सामान समेत बढीले बगाएकाे आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी गराएका छन् ।
प्रतिक्रिया