+
Search

ताजा अपडेट +

पपुलर +

अत्याधिक गर्मी बढेसँगै विद्यालय बन्द गर्न थालियाे

शब्द-यात्रा
२०८३ जेठ १२, मंगलबार

कञ्चनपुरमा गर्मी बढेसँगै विद्यालयको पठनपाठन बन्द गर्न थालिएकाे छ । गर्मी बढेसँगै कञ्चनपुरका स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका हुन् ।

अत्याधिक गर्मी हुन थालेपछि शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हाे ।

अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा समेत कठिनाइ हुने भएकाले परिस्थितिलाई दृष्टिगत गरी दुई दिन बिदा दिने निर्णय गरेको बताइएकाे छ ।

त्यसैगरी कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा ३ दिन बिदा दिएको छ । दुवै नगरपालिकाले गर्मी बिदा र लामो बिदाबाट कट्टी हुने गरी अहिले बिदा दिएकाे सूचनामा उल्लेख गरिएकाे छ ।

कञ्चनपुर जिल्लाकाे ९ वटा स्थानीय तहमा संस्थागत ३४९ र सामुदायिक २६० विद्यालय रहेका छन् । केही दिनयता जिल्लामा गर्मी अत्याधिक बढेकाले जनजीवन प्रभावित बनेको छ भने जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लू) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको थियाे ।

हाल लुम्बिनी सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दा बढी हुनुका साथै केहि स्थानहरूमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढीसम्म हुने गरेकाले अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन समेत विभागले आग्रह गरेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा