+
Search

ताजा अपडेट +

पपुलर +

धान खेतमा पहिलो पटक मखना खेती शुरु

शब्द-यात्रा
२०८३ जेठ १६, शनिबार

झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती शुरु गरिएको छ ।

पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य पदार्थ मखनाको खेती युवा कृषकले नेपालमै पहिलो पटक ठुलो क्षेत्रफलमा थालेपछि यति बेला यो खेती स्थानीयको चासोको विषय बनेको छ ।

कचनकवल गाउँपालिका–४ केचनाका ३९ वर्षीय कृषक चन्द्र राजवंशीले भारतको विहारबाट प्रविधि सिकेर २० बिघा क्षेत्रफलमा मखना खेती सुरु गरेका हुन् । धान र मकै खेती हुने खेतमा पानी जमाएर गरिएको यो खेती अहिले झापामै नयाँ र फरक कृषि अभ्यासका रूपमा हेरिएको छ ।

राजवंशीले १० वर्षका लागि प्रतिबिघा ३० मन धान बराबरको रकम अग्रिम भुक्तानी गरेर भाडामा लिएको जमिनमा मखना खेती सुरुआत गरेको बताए ।

मखना पानीमा फल्ने कमल प्रजातिको वनस्पति हो । यसको फराकिलो पात काँडाले ढाकिएको हुन्छ भने पातको बीचभागबाट फूल र फल लाग्ने गर्दछ । वैशाख अन्तिम सातादेखि फूल लाग्न सुरु हुने मखना साउन अन्तिम सातादेखि पाक्न थाल्ने कृषक राजवंशी बताउँछन् । उनका अनुसार मखना खेतीका लागि सुरुआतमा धेरै मेहनत आवश्यक पर्छ ।

आठ महिनापछि मात्रै उत्पादन प्राप्त हुने भएकाले यो खेती धैर्यता र लगानी दुवै चाहिने खेतीका रूपमा रहेको राजवंशीको अनुभव छ । उनले बिउदेखि प्रविधिसम्म भारतबाट ल्याएर खेती सुरु गर्दा हालसम्म करिब रु १४ लाख खर्च भइसकेको बताए । उत्पादित मखना भारत निर्यात गर्न पाए प्रतिबिघा रु तीन लाखसम्म नाफा लिन सकिने उनको अनुमान छ ।

कृषक राजवंशीका अनुसार नेपालमा हालसम्म व्यावसायिक रूपमा मखना खेती सुरु नभएकाले यसको बजार व्यवस्थापन र सरकारी नीतिबारे स्पष्ट व्यवस्था छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा