काठमाडौँ । भूमि आयोग खारेज गरेको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न भनेर नयाँ समिति गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘भूमि समस्या समाधान समिति’ गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन् । त्यसैगरी, समितिको सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मनिधि सोती र काठमाडौँकी डा. रोहणा श्रेष्ठलाई नियुक्त गरिएको छ । भूमिहीन र सुकुमबासी समस्या समाधानका नाममा सरकारले गठन गरेको यो २० औँ संयन्त्र हो ।
यसअघि सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गर्दै भूमिसम्बन्धी ऐन, २०२१ मा संशोधन गरेर विगतको भूमि आयोग खारेज गरेको थियो । राजपत्रमा प्रकाशित अध्यादेशको खण्ड ७६, अतिरिक्त अङ्क ९ अनुसार, ऐनमा दफा ५२ग को उपदफा (८) झिकेर त्यसपछि दफा ५२ग१ थपिएको छ ।
प्रतिक्रिया