म्याग्दीमा राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन् । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँलाई जिल्ला प्रशासन कार्यालयले ७० वर्षमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।
शारीरिक रुपमा अपाङ्गता भएकी राममायाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले नागरिकता हस्तान्तरण गरेका थिए । यसअघि नागरिकताकाे अभवमा राज्यको सेवासुविधाबाट वञ्चित एकल महिला उनलाई कान्छो भाइ गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर नागरिकताकाे प्रमाणपत्र दिलाएका हुन् ।
विसं २०१३ सालमा जन्मिनुभएकी उनको एउटा हात चल्दैन । उनले नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ताको सुविधाका लागि प्रक्रिया सुरु गर्ने बताएकी छन् । नागरिकता पाएपछि खुसी देखिएकी उनले नागरिकता प्राप्त गरेलगत्तै राष्ट्रिय परिचयपत्रका लागि पनि आवेदन फारम भरेकी छन् ।
प्रजिअ आचार्यले समाजमा अझै पनि यदाकदा नागरिकता नबनाएका सर्वसाधारण भएमा आवश्यक प्रक्रिया पूरा गरी आउँदा प्रशासनमा झन्झट र दुःख नहुने बताए । उनले साेह्र वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउने नीतिगत व्यवस्था भएपनि दुर्गम ठाउँहरुमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताका बारेमा थाहा नपाउनु दुःखको भएको बताए ।
नागरिकताकाे बारेमा ज्ञान नहुँदा म्याग्दीलगायत विभिन्न सथानमा शारीरिक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोरलगायत विभिन्न कारणले अझै पनि नागरिकता लिन योग्य उमेरमा पनि नागरिकता नबनाएका धेरै भेटिने गरेका छन् ।
प्रतिक्रिया