चितवन । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ। कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो।
कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ सङ्कलन गरी बिक्री गर्ने तयारी गरिएको बताए। कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो । वरण्डाभार क्षेत्र १० हजार ३०२ हेक्टर रहेको उनले जानकारी दिए ।
वन कार्यालयले वरण्डाभार वन क्षेत्रबाट एक लाख क्युफिट काठ सङ्कलन गरेपछि केही काठ बिक्रीका लागि वन निगमलाई दिइने प्रमुख आचार्यले जानकारी दिए।
यसैगरी, कार्यालयले जोखिमयुक्त स्थानका रुख पनि कटान गर्दैछ । प्रमुख आचार्यका अनुसार मानवीय र भौतिक क्षति हुनसक्ने ठाउँको पहिचान गरी रुख कटान गरिने छ । देवघाट जाने सडकका २५ वटा कटान गरिसकिएको जनाउँदै उनले भरतपुरबाट कालिका नगरपालिका जाने दुई वटा सडक किनारका र पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलको जोखिमपूर्ण रुख कटानको तयारी गरिएको बताए।
प्रतिक्रिया