पछिल्लाे २४ घण्टामा ट्राफिक प्रहरीले सवारी नियम उलंधन गर्ने सवारीचालकलाई गरेकाे कारबाहीबाट झण्डै ५ लाख रुपैयाँ राजस्व संकलन गरेकाे छ । ट्राफिक प्रहरीले २ हजार २५६ सवारीचालकलाई सवारी नियम उलंधनमा कारबाही गर्दा राज्यकोषमा ४ लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व दाखिला भएकाे हाे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १ सय ५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ११, संकेत बत्ती उलंधनकर्ता १ सय ४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २ सय ३० जनालाई कारबाही गरिएको हो ।
त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय १७, एकतर्फी सडकमा सवारी चलाउने १ सय १८ र अन्य सवारी नियम पालना नगरेका १ हजार १ सय ६१ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया