काठमाडौं। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यतिबेला गर्मी बिदाको छुट्टी छ। विद्यार्थी आआफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी बिदाको गृहकार्य गर्दै छन्, अध्ययन गर्दै छन्।
स्कुलका शिक्षक भने बिदामा बसेका विद्यार्थीको घरघरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधि, गृहकार्य, आचरण व्यवहार, अध्ययनको वातावतरण लगायतका विषयमा जानकारी लिइरहेका छन्।
अत्याधिक गर्मी बढेसँगै दैनिक पठनपाठन सञ्चालन गर्न कठिनाइ भएर विद्यालयले गर्मी बिदा दिएको छ। शनिबार र आइतबारको छुट्टी समेत गरी गर्मी बिदामा विद्यार्थी ९ दिन घरमानै बस्नुपर्ने भएकाले शिक्षकहरूलाई विद्यार्थीहरूको घरघरमै पठाएर अध्ययन एवं गृहकार्यमा सहजीकरण गर्ने गरी स्कुले शिक्षक शिक्षिकालाई परिचालन गरेको हो।
कक्षा एकदेखि दशसम्म अध्ययन गर्ने विद्यार्थीलाई बिदाको समयमा समेत अध्ययन गतिविधिमा सलग्न गराइराख्न स्कुलले विद्यार्थीलाई विभिन्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यवहारिक अभ्यास गर्ने जस्ता गतिविधिमा सक्रिय रहन बिदाको होमवर्क दिएको छ। स्कुलले दिएको गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाइराख्न एवं सहजीकरण गर्न शिक्षक पनि विद्यार्थीको घरघरमा पुगिरहेका छन्।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई उसको अध्ययनको अवस्था, विद्यार्थीका अभिभावकले विद्यालयसँग गर्ने गरेको गुनासो, विद्यार्थीको पढाइप्रतिको अभिरुची लगाएतका विषयलाई आधार मानेर विद्यार्थीहरुको समूह विभाजन सहित शिक्षक कर्मचारीलाई होम भिजिटमा परिचालन गरीएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।
शिक्षकले घरमै पुगेर विद्यार्थीको अनुशासन, उसको पठनपाठनको अवस्था, शिक्षण सिकाइलाई सुधार गर्न अभिभावकको भूमिका, घरमा विद्यार्थीको अध्ययन वातावरणको अवस्था आदिका बारेमा जानकारी लिनुका साथै बिदामा विद्यालयले दिएको गृहकार्यसँग सम्बन्धित विषयमा समेत अभिभावक एवं विद्यार्थीलाई सहजीकरण गर्ने गरी शिक्षकलाई विद्यार्थीको घर घरमै परिचालन गरिएको हो।
विद्यालय समयमा समेत मोबाइल, ल्यापटपका साथै सामाजिक संजालमा सक्रिय रहने विद्यार्थी विदाको समयमा अझै बढी उल्लेखित साधनमा व्यस्त रहने भएकाले घरमै बस्दा पनि अध्ययनलाई निरन्तरता दिने गतिविधिमा सलग्न गराउने उद्देश्यले सहित शिक्षकलाई विद्यार्थीको घरमा नै पुगेर निगरानी गर्ने व्यवस्था मिलाइएको समादेशक थापाले जानकारी दिए।
प्रतिक्रिया