+
Search

ताजा अपडेट +

पपुलर +

करका दर हेरफेर गर्ने अधिकार सरकारसँग भएकाे दाबी

शब्द-यात्रा
२०८३ जेठ २७, बुधबार

सरकारसँग करका दर हेरफेर गर्ने अधिकार रहेकाे अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । आज सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले उक्त दाबी गरेका हुन् ।

करका दर निर्धारण गर्ने प्रक्रियामा अर्थमन्त्री अन्तिम निर्णयकर्ता भएको र एक सामूहिक र नीतिगत सहमतिको विषय भएकाे समेत अर्थमन्त्री वाग्लेको भनाइ रहेकाे थियाे । उनले बजेट र करका दरहरू अर्थमन्त्री एक्लैले गोप्य रूपमा तय गर्ने नभई विज्ञ र सरोकारवालाहरूको ठूलो समूहको छलफलपछि निष्कर्षमा पुगिने स्पष्ट पारेका छन् ।

अर्थमन्त्री वाग्लेले आर्थिक ऐनको दफा १८ को व्यवस्थाबारे चर्चा गर्दै प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएपनि सरकारले आवश्यकताअनुसार कर, दस्तुर, शुल्क वा महसुल घटाउन, बढाउन वा पूर्ण रूपमा छुट दिन सक्ने कानूनी प्रावधान रहेको पनि उल्लेख गरेका छन् ।

आम जनतालाई राहत दिनका लागि विगतमा तेलको मूल्य वृद्धि हुँदा पूर्वाधार शुल्क घटाइएको बताउँदै सार्वजनिक हितका लागि सरकारले ऐनले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्मार्फत यस्ता निर्णयहरू गर्न सक्ने प्रस्ट पारेका थिए ।

उनले नीतिगत तहमा हुने यस्ता छलफल र निर्णयहरू पारदर्शी र संस्थागत हुने बताउँदै यो सार्वजनिक वित्त व्यवस्थापनको एक नियमित र विश्वव्यापी अभ्यास भएकाे समेत उल्लेख गरेका छन् ।

अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक छपाइका क्रममा केही प्राविधिक त्रुटिहरू भएको स्वीकार गर्दै त्यसलाई सच्याएर संघीय संसदका सदस्यहरूलाई जानकारी गराइसकेको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा