काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई उक्त रकम वितरण गरेको हो। हालसम्म समस्याग्रस्त सहकारीका १ हजार ३१३ जना साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्।
समितिका अनुसार हालसम्म शिव शिखर बहुउद्देश्यीय सहकारीका २१६ जना थप बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम कानुनी व्यवस्थाअनुसार बचतकर्तालाई फिर्ता गरिँदै आएको समितिले जनाएको छ।
पहिलो चरणमा कम रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकता दिइएको छ। आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गरी क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने समितिको भनाइ छ।
समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये पाँच लाख रुपैयाँभन्दा कम बचत भएका साना बचतकर्ता बहुसंख्यक छन्। समितिका अनुसार पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्ने ठूला बचतकर्ता करिब १८ हजार जना रहेका छन्।
प्रतिक्रिया