झापा । दमक नगरपालिका–९ र १० को सिमाना क्षेत्रमा रहेको जीर्ण सडकको स्तरोन्नति हुन नसकेको भन्दै स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्।
वर्षौंदेखि हिलो, पानी र खाल्डाखुल्डीले भरिएको सडकमा स्थानीय महिला, पुरुष तथा किसानहरूले धानको बेर्ना रोप्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। उनीहरूका अनुसार सडक निर्माणका लागि पटक–पटक माग गरे पनि कुनै निकायले गम्भीर चासो नदिएपछि सांकेतिक विरोध गर्न बाध्य भएका हुन्।
स्थानीयवासीले वर्षायाममा सडक हिलाम्मे हुने र आवतजावतमा ठूलो समस्या हुने गरेको बताएका छन्। किसान नगेन्द्रमणि न्यौपानेले जनप्रतिनिधिहरूले चुनावका बेला मात्र जनताको समस्या सुन्ने तर निर्वाचित भएपछि बेवास्ता गर्ने गरेको गुनासो गरे। उनले सडकको अवस्था खेतजस्तै बनेकाले विरोधस्वरूप धान रोप्नुपरेको बताए।
किसान सुरेश धिमालले वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएको उल्लेख गरे। सडकको खराब अवस्थाका कारण मोटरसाइकल चलाउनसमेत कठिन हुने, विद्यार्थी तथा वृद्धवृद्धालाई विशेष समस्या पर्ने उनले बताए।
त्यस्तै पदम भण्डारीले सडकको दुर्दशाले स्थानीयको दैनिकी प्रभावित भएको भन्दै बिरामी पर्दा एम्बुलेन्ससमेत पुग्न कठिन हुने अवस्था रहेको बताए। केदार खतिवडाले पटक–पटक आश्वासन पाए पनि काम नभएको भन्दै जनताको धैर्यको परीक्षा धेरै भइसकेको टिप्पणी गरे।
भेषराज थापाले आफूहरू कुनै राजनीतिक उद्देश्यले नभई आधारभूत पूर्वाधारको माग लिएर आन्दोलनमा उत्रिएको स्पष्ट पारे। उनले विकासका भाषणभन्दा व्यवहारमा काम आवश्यक रहेको बताए।
स्थानीयवासीले सडक स्तरोन्नति तथा कालोपत्रे कार्य तत्काल सुरु नगरे थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन्। उनीहरूको मुख्य माग सडकमा धान होइन, विकास उम्रियोस् भन्ने रहेको छ।
प्रतिक्रिया