म्याग्दीमा जङ्गलमा लुकाएर राखेको अवस्थामा आठ थान एकनाले भरुवा बन्दुक बरामद भएकाे छ । म्याग्दीको रघुगंगा गाउँपालिका-७, चिमखोलाको फेदीवन जंगलबाट इजाजत नभएका भरुवा बन्दुक बरामद भएको हाे ।
अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जङ्गलमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार वन्यजन्तुको अवैध चोरी–सिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत बन्दुक बरामद गरेकाे बताइएकाे छ ।
प्रहरी निरीक्षक सागर तिमिल्सिनाले २०८२ मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १५० थान इजाजत नभएका बन्दुक बरामद भएको जनाएका छन् । ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनमा वन्यजन्तुको चोरी–सिकारीका साथै आपसी विवाद र झैझगडामा प्रयोग हुने जोखिम भएकाले अवैध बन्दुक बरामद गर्ने अभियान चलाएको थियाे ।
यसरी अवैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । उक्त अभियान मार्फत स्थानीयवासीको सूचना तथा सहयोग समेतमा जङ्गल, रूखका टोड्का, खोल्सा, मानिस नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गर्दै आएकाे छ ।
प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने व्यवस्था भएपनि प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेकाे छ । उक्त ‘ब्राबोसेरा’ अभियान निरन्तर जारी राख्ने र त्यस्ता अवैध बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया