+
Search

ताजा अपडेट +

पपुलर +

काभ्रेमा मौसम तथा बाढी मापन उपकरण राखिँदै

शब्द-यात्रा
२०८३ असार १, सोमबार

काभ्रेपलाञ्चोक जिल्लाकाे विभिन्न नदी-तटीय क्षेत्रमा मौसम तथा बाढी मापन उपकरण राखेर व्यवस्थित गर्न थालिएको छ । वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न जिल्लाकाे विभिन्न नदी-तटीय क्षेत्रमा मौसम तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको हाे ।

सुनकोशी र रोशी नदी आसपासका विभिन्न क्षेत्रमा ती उपकरण व्यवस्थित गर्न थालिएको छ । जिल्लास्थित तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागिएको र यसका लागि सरोकारवाला निकाय तथा स्थानीय नागरिकसँग छलफलसमेत गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

मौसम र बाढीबारे जानकारी गराउन जिल्लाको सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीले जानकारी दिएका छन् । जसअनुसार धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको छ ।

सुनकोशी नदीकाे दोलालघाट र पचुवारघाट र पनौती बजार नजिकै बाढी मापन उपकरण जडान गरिएको छ । रोशी गाउँपालिका–२ फलामेसाँघुमा मौसम मापन उपकरण तथा पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना रोशी खोला पुल र रोशी–सुनकोशीको संगमस्थल नेपालथोक नजिकको पुलमा बाढी मापन उपकरण थप्ने प्रक्रिया अघि बढाइएको छ । त्यसैगरि पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणका लागि बाढीको जानकारी दिने बत्ती समेत जडान गरिएको विभागले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा