+
Search

ताजा अपडेट +

पपुलर +

तीन मन्त्रीद्वारा निकुञ्जभित्रको सडकको निरीक्षण

शब्द-यात्रा
२०८३ असार ९, मंगलबार

सरकारका तीन जना मन्त्रीले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको निरीक्षण गरेका छन् । चितवनकाे भरतपुर–माडी सडक खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडककाे पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा सडक निर्माण गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रूपमा समस्या समाधानका लागि ध्रुवघाटमा पक्की पुल निर्माण र सडकका लागि छिट्टै टेण्डर खोलेर व्यवस्थित गरिने बताएका छन् ।

हुलाकी सडक खण्डअन्तर्गत पर्ने उक्त् सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो । अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको र ध्रुव पोष्टबाट राप्ती नदीमा ५०० मिटर लामो पुल निर्माण गरिने चितवन–३ का सांसद तथा मन्त्री सोविता गौतमले बताइन् । साथै, उनले निकुञ्जभित्र सडकको बैकल्पिक रेखांकन भइरहेको जानकारी दिएकी छन् ।

ध्रुवघाटमा पुल निर्माण भए माडी जाने बाटो झण्डै पाँच किलोमिटर छोटो हुनेछ भने यो सडक भरतपुरबाट माडी ठोरी हुँदै वीरगञ्जसम्म पुग्न सकिन्छ । भरतपुरबाट भारतको सीमावर्ती क्षेत्र भिखना ठोरी जानका लागि यही मार्ग छोटो पर्ने भएकाले पनि उक्त सडककाे व्यवस्थापन गरिने बताइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा