वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । आकर्षक तलबमा वैदेशिक रोजगारीको पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हाे ।
प्रहरीले बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको बताइएकाे छ । पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट ४ लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख ९० हजार र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट १ लाख लिई सम्पर्कविहीन भएका थिए ।
पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया