हरेक वर्षा झैं यसवर्ष पनि आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेसँगै राष्ट्रिय धान दिवस मनाउन थालिएकाे हाे ।
असार १५ गते राष्ट्रिय धान दिवसका दिन रोपाइँ महोत्सव पनि मनाइन्छ । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएकाे छ । तर, आधा असार सकिन लाग्दा पनि पानी नपरेकाले धान रोपाइँ भने हुन सकेकाे छैन् ।
कृषि विभागका अनुसार अहिलेसम्म मुलुकभर ११.३३ प्रतिशत रोपाइँ भएको बताइएकाे छ । गत वर्ष सोहि अवधिमा १५.६ प्रतिशत धान रोपाइँ भएको थियो भने मुलुकभर धान रोपाइँ हुने १३ लाख ९१ हजार ४८८ हेक्टर क्षेत्रफलमा रहेकोमा यो वर्ष १ लाख ५६ हजार ५८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको पनि विभागले जनाएकाे छ ।
जसअनुसार अहिलेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२.८ प्रतिशत अर्थात् नौ हजार ८७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । त्यसैगरि लुम्बिनी प्रदेशमा २०.९ प्रतिशत अर्थात् ६२ हजार ६७१ हेक्टर क्षेत्रफलमा र गण्डकी प्रदेशमा १२.७ प्रतिशत अर्थात् ११ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको विभागले जनाएकाे छ ।
विभागका अनुसार बागमती प्रदेशमा १२.६ प्रतिशत अर्थात् १४ हजार ४२० हेक्टर क्षेत्रफलमा, सुदूरपश्चिममा ९.३ प्रतिशत अर्थात् १५ हजार ८ सय हेक्टरमा र कोशी प्रदेशमा ८.३ अर्थात् २२ हजार ८१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम ५ प्रतिशत अर्थात् १९ हजार १५८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको बताइएकाे छ ।
त्यस्तै आज खेतमा काम गरी दही चिउरा खाने चलन समेत रहेकाे छ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने र त्यसले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास रहेकाे पाइन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा समेत लिने गरिन्छ भने आज दही चिउरा खाई असार १५ मनाउने परम्परा समेत रहेकाे छ ।
प्रतिक्रिया