गएराति सम्पन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गतकाे खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ गोलअन्तर हराएर अन्तिम १६ मा प्रवेश गरेकाे छ भने अर्का खेलमा स्विडेनमाथि ३-० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको डलास रङ्गशालामा भएको रोमाञ्चक खेलमा आइभरी कोस्टलाई २-१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको हाे । खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डियाल्लोले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । खेलकाे ८६औँ मिनेटमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हल्याण्डले गोल गर्दै टाेलिलाइ २-१ अग्रता दिलाएका थिए । त्यसपछि दुवै टाेलिले कुनै गाेल गर्न नसक्दा नर्वे २-१ गोल अन्तरले विजयी बनेर अन्तिम १६ विश्वकपको नकआउट चरणमा प्रवेश गरेकाे छ ।
अमेरिकाकै न्यूयोर्कस्थित न्यूजर्सी (मेटलाइफ) रंगशालामा भएको अर्काे खेलमा स्विडेनमाथि ३-० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्सका लागि पहिलो हाफको अन्तिम समय ४५औँ मिनेटमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गोल गरेका थिए ।
दोस्रो हाफकाे ५३औँ मिनेटमा फ्रान्सका युवा विङ्गर ब्राडली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए भने खेलको ७४औँ मिनेटमा एम्बाप्पेले अर्काे गाेल गर्दै ३-० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टाेलिबाट कुनै पनि गाेल नहुँदा फ्रान्स ३-० गाेल अन्तरले विजयी बन्दै विश्वकपको नकआउट चरणमा पुगेकाे छ ।
अब नर्वेले अर्को चरणमा बलियो टोली ब्राजिलको सामना गर्ने छ भने फ्रान्सले पाराग्वेको सामना गर्ने तय भएकाे छ ।
प्रतिक्रिया