काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधान संशोधनको नाममा वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले नाटक मञ्चन गरिरहेको र परिवर्तनकारी शक्तिहरूमाथि मजाक गरिरहेको टिप्पणी गरेका छन्।
उनले संविधान संशोधन कार्यदल नै खारेजको माग गरेका छन्।
संविधान संशोधनजस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहले संविधानको सत्व नै नबुझेका व्यक्तिलाई यसको जिम्मा दिएर सुरुमै मजाक उडाइसकेको उल्लेख गर्दै अध्यक्ष साहले रास्वपा र वालेन शाहले संविधान संशोधनको नाममा नाटकमात्रै मञ्चन गरेको घटनाक्रमले पुष्टि गरिसकेको बताए। साहले प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनको लागि बहसपत्र तयार गर्न गठित कार्यदलको वैधानिकतामाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका छन्।
बालेन सरकारले संसद् छलेर सेनामार्फत शासन चलाएजस्तै संसद्लाई बेवास्ता गरेर सिंहदरबारबाट संशोधन कार्यदल बनाएर विधिको धज्जी उडाएको साहको गम्भीर आरोप छ।
आज सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा साहले संविधानमा साँच्चिकै सुधार र संशोधन चाहेको भए रास्वपा र वालेन शाहले राजनीतिक रुपमा अलिक गम्भीर विचारधारा र चेतना बोकेका अनि योगदान पुर्याएका व्यक्तित्वलाई यसको जिम्मा दिनसक्नेमा फिल्म र भिडिओ डिरेक्सनमा रुचि रहेको र काम गरेको व्यक्तिलाई संविधान संशोधनजस्तो गम्भीर विषयको भारी बोकाएर राष्ट्रिय राजनीतिमा नै कमेडी गरिरहेको टिप्पणी गरे।
प्रतिक्रिया