प्रयोगशाला परीक्षणमा न्यूनस्तर पाइएका वाईवाईसहित चार ब्रान्डका चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाईवाईसहित चार ब्रान्डका चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको हाे ।
विभागले बजार अनुगमन तथा निरीक्षणका गर्दा सङ्कलन गरेकाे नमुना प्रयोगशालामा परीक्षण गर्दा बर्दियाको बाँसगढी–३, स्थित बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिबाट उत्पादित चारवटा चाउचाउ न्यूनस्तरकाे पाइएको जनाएको छ ।
विभागका अनुसार बजारबाट फिर्ता गर्न आदेश दिइएका उत्पादनमा गोलमोल ब्रान्डको २५ ग्रामको इन्स्ट्यान्ट नुडल्स, वाईवाई ब्रान्डको ६० ग्रामको इन्स्ट्यान्ट नुडल्स, प्रिमियम पिरो ब्रान्डको २५ ग्रामको इन्स्ट्यान्ट नुडल्स र मामा ब्रान्डको ६० ग्रामको इन्स्ट्यान्ट नुडल्स रहेका छन् ।
विभागले गोलमोल ब्रान्डको ब्याच नम्बर बी/बीएम२ सी, २०८३.०१.११, उत्पादन मिति २०८३/०१/११ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको चाउचाउ फिर्ता गर्न भनेको छ । त्यसैगरी, वाईवाई ब्रान्डको ब्याच नम्बर बी/बीएम१–एक्स–२०२६–०५–१४, उत्पादन मिति २०२६/०५/१४ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको ६० ग्रामको चाउचाउ पनि फिर्ता गर्न आदेश दिइएको हाे ।
प्रिमियम पिरो ब्रान्डको ब्याच नम्बर बी/बीएम२, सी, २०८३.०१.२८, उत्पादन मिति २०८३/०१/२८ तथा उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग अवधि उल्लेख भएको २५ ग्रामको चाउचाउ पनि फिर्ता गर्नुपर्ने सूचीमा उल्लेख गरेकाे छ । त्यसैगरि मामा ब्रान्डको ब्याच नम्बर बी/बीएम१–एक्स–२०२६–०५–१३, उत्पादन मिति २०२६–०५–१३ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको ६० ग्रामको चाउचाउसमेत बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको छ ।
विभागका अनुसार परीक्षण गरिएका नमुना खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६(क) विपरीत न्यूनस्तरको पाइएको बताइएकाे छ । विभागले सोही ऐनको दफा ३८ को उपदफा (२) अनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न र उपदफा (४) अनुसार बिक्री-वितरण नगर्न तथा नगराउन आदेश दिएको हाे ।
प्रतिक्रिया